नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु हुँदै, सम्झौता गरेर प्रदेश सरकारले आफैँ छाप्न सक्ने

589 Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइका लागि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी भएको छ। संघीय संरचनाअनुसार लाइसेन्ससम्बन्धी अधिकार प्रदेश सरकारमा गएपछि प्रदेशले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर आफ्ना लाइसेन्स आफैँ छपाउन सक्ने व्यवस्था अघि बढाइएको हो।

यसअघि लाइसेन्स छपाइको जिम्मेवारी यातायात व्यवस्था विभागमार्फत हुँदै आएको थियो। तर अधिकार प्रदेशमा हस्तान्तरण भएपछि नयाँ र नवीकरण गरिएका लाइसेन्सको छपाइ प्रक्रियामा केही समय अवरोध देखिएको थियो। नयाँ प्रणालीलाई व्यवस्थित बनाउन प्रदेश सरकारहरूले सुरक्षण मुद्रण केन्द्रसँग आवश्यक सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ। 

सुरक्षण मुद्रण केन्द्रले प्रदेशहरू सम्झौताका लागि आएपछि लाइसेन्स छपाइ तत्काल अघि बढाउन सकिने जनाएको छ। प्रदेश र केन्द्रबीच सम्झौता भएपछि प्रदेशबाट प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ तथा व्यवस्थापनको काम अगाडि बढ्नेछ।

यसअघि लामो समयदेखि स्मार्ट लाइसेन्स छपाइमा समस्या देखिँदै आएको थियो। विभागमा रहेको लाइसेन्स छपाइ मेसिनमा क्षति पुगेपछि सुरक्षण मुद्रण केन्द्रमार्फत ठूलो संख्यामा लाइसेन्स छाप्ने व्यवस्था गरिएको थियो। केन्द्रले लाखौँ स्मार्ट लाइसेन्स छापिसकेको जनाएको छ। 

नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि प्रदेश तहबाटै लाइसेन्स छपाइ व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, सेवाग्राहीले लामो समयसम्म लाइसेन्सका लागि कुर्नुपर्ने समस्या कम गर्ने उद्देश्यसमेत राखिएको छ।

 
 
सम्बन्धित समाचार