काठमाडौं । नेपालमा आगामी साता भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। विशेषगरी असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने सम्भावनाका कारण वर्षाको मात्रा बढ्न सक्ने आकलन गरिएको हो।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार हाल उत्तर अन्डमन सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको छ। उक्त प्रणाली थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसमविद्हरूको आकलन छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणाली तथा मोडलहरूको अध्ययन गर्दा आगामी दिनमा ठूलो वर्षाको सम्भावना देखिएको बताएका छन्।
उनका अनुसार केही पूर्वानुमान मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना देखाएका छन्। केही मोडलमा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने प्रक्षेपणसमेत देखिएको उनले बताएका छन्।
‘धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढी देखिन्छ। ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने देखिएको छ। यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ। तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुन सक्छ,’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।
मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने प्रणालीको प्रभाव नेपालमा बढ्न सक्छ। सोही समयमा पश्चिमी वायुमण्डलीय प्रणालीसँग यसको अन्तरक्रिया हुने सम्भावना रहेकाले नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिन सक्नेछ।
जलवाष्पको आपूर्ति बढेमा देशका विभिन्न भूभागमा भारी वर्षा हुन सक्छ। दुई प्रणालीबीचको अन्तरक्रिया अझ बलियो भए वर्षाको मात्रा थप बढ्न सक्ने मौसमविद्हरूको आकलन छ।
आगामी वर्षाको प्रभाव सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न भूभागमा बढी पर्न सक्ने अनुमान गरिएको छ। लगातार वा अत्यधिक वर्षा भए नदी तथा खोलामा जलसतह बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र भूक्षयको जोखिम बढ्न सक्छ।
वर्षाको मात्रा अत्यधिक भए सडक तथा यातायात पूर्वाधार, बस्ती, कृषि क्षेत्र र अन्य भौतिक संरचनामा समेत असर पर्न सक्ने भएकाले पूर्वतयारी आवश्यक देखिएको छ।
यसअघि पनि वर्षायाममा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा आगामी दिनमा हुन सक्ने वर्षालाई लिएर स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूलाई आवश्यक तयारी गर्नुपर्ने मौसमविद्हरूले बताएका छन्।
मौसमविद्हरूले यस वर्ष असोज महिनामा समेत वर्षाको ढाँचा सामान्यभन्दा फरक हुन सक्ने आकलन गरेका छन्। एल निनोको बढ्दो प्रभावसँगै सक्रिय मौसमी प्रणालीका कारण मनसुनको अन्त्यतिर समेत वर्षा हुने क्रम देखिन सक्ने उनीहरूको भनाइ छ।
तर आगामी दिनमा पर्ने वर्षाको वास्तविक मात्रा र प्रभाव भने मौसमी प्रणालीको विकास, यसको गति र पश्चिमी वायुसँग हुने अन्तरक्रियामा निर्भर रहनेछ।
त्यसैले मौसम पूर्वानुमान तथा चेतावनीलाई नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन तथा बाढी र पहिरोको सम्भावना भएका क्षेत्रमा विशेष सतर्क रहन आग्रह गरिएको छ।