काठमाडौं । बंगालको खाडी तथा आसपासको क्षेत्रमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण नेपालमा आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। उत्तर अण्डमान सागरमा बनेको न्यूनचापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै थप विकसित हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको अवस्थामा बंगालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि क्रमशः बढ्न सक्ने देखिएको छ।
मौसमविद्हरूका अनुसार उक्त प्रणाली सेप्टेम्बर २१–२२ सम्म थप शक्तिशाली हुँदै जाने र त्यसपछि पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्ने सम्भावना छ। यसको प्रभावसँगै नेपालतर्फ मनसुनी आद्रता थप भित्रिन सक्ने भएकाले आगामी दिनमा वर्षाको मात्रा बढ्न सक्ने अनुमान गरिएको छ।