नागोया । जापानमा जारी २०औँ एसियाली खेलकुदमा आयोजक जापानले पहिलो स्वर्ण पदक जितेको छ। पुरुष व्यक्तिगत ट्रायथलनमा जापानका ताकुमी होजोले स्वर्ण जित्दै घरेलु टोलीलाई प्रतियोगिताको पहिलो स्वर्ण दिलाएका हुन्
गामागोरीमा भएको प्रतियोगितामा होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड निर्धारित दूरी ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे। उनले चीनका झाङ सिझुईलाई ९ सेकेन्डले पछि पार्दै स्वर्ण जिते। झाङले रजत तथा काजाकिस्तानका अर्लान झानाबाईले कांस्य पदक हात पारे।
होजो पौडीपछि चौथो र साइकलतर्फ पाँचौँ स्थानमा थिए। तर अन्तिम चरणको ५ किलोमिटर दौडमा उनले गति बढाउँदै अग्रता लिए र स्वर्ण आफ्नो नाममा पारे।
३० वर्षीय होजोले यसअघि हाङझाउ एसियाली खेलकुदमा मिश्रित रिलेमा स्वर्ण पदक जितेका थिए। घरेलु मैदानमा प्राप्त यो सफलताले जापानी टोलीलाई थप उत्साह दिएको उनले बताएका छन्।
यस वर्षको एसियाली खेलकुद जापानको आइची–नागोयामा आयोजना भइरहेको छ। प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ।