विपद् र महामारीमा पनि सिकाइ नरोक्ने सरकारको योजना

960 Shares

काठमाडौं । सरकारले भूकम्प, बाढीपहिरो, महामारीलगायत विपद्का समयमा पनि बालबालिकाको पढाइ तथा सिकाइ निरन्तर राख्ने योजना अघि सारेको छ। यसका लागि सरकारले ‘विद्यालय सुरक्षा गुरुयोजना–२०८२’ सार्वजनिक गरेको छ। 

विपद्का कारण विद्यालय बन्द हुने वा नियमित पठनपाठन प्रभावित हुने अवस्थामा वैकल्पिक माध्यमबाट शिक्षण–सिकाइ सञ्चालन गर्ने व्यवस्था गुरुयोजनामा समेटिएको छ। विद्यालयलाई विपद् प्रतिरोधी बनाउने, जोखिम न्यूनीकरण गर्ने तथा आपत्कालीन अवस्थामा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने विषयलाई पनि योजनामा प्राथमिकता दिइएको छ।

सरकारको योजनाले प्राकृतिक विपद् तथा महामारीका कारण शिक्षामा लामो समयसम्म अवरोध नआओस् भन्ने उद्देश्य राखेको छ। यसअघि कोभिड–१९ महामारीका क्रममा लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइमा गम्भीर असर परेको अनुभवका आधारमा पनि भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन तयारी अघि बढाइएको हो। 

गुरुयोजनाअन्तर्गत विपद्को समयमा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकबीच समन्वय कायम गर्ने र आवश्यकताअनुसार वैकल्पिक सिकाइका उपाय प्रयोग गर्ने अवधारणा अघि सारिएको छ।

सरकारले विद्यालयलाई सुरक्षित र विपद् उत्थानशील बनाउँदै आपत्कालीन अवस्थामा पनि बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

 
सम्बन्धित समाचार