गौशाला । नापजाँच सम्पन्न भएको नौ वर्षपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर शनिबार ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो। साविक रमदैयाँ भवाडी गाउँपालिकाका वडा नम्बर १, ५ र ९ मा स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गा नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो। तर कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा उनीहरू लामो समयसम्म जग्गाधनी पुर्जाविहीन थिए।
लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले २४२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभएको हो।
पुर्जा प्राप्त गरेसँगै पुस्तौँदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ। पुर्जा नहुँदा जग्गा किनबेच, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन तथा भूमिसम्बन्धी अन्य कानुनी प्रक्रिया अघि बढाउन समस्या हुँदै आएको स्थानीयले बताएका छन्।
नापी कार्यालय धनुषाका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि सम्बन्धित जग्गाको कानुनी कारोबार तथा बैंकिङ प्रयोजनमा प्रयोग गर्न सहज हुनेछ। त्यस्तै, जग्गासम्बन्धी विवाद निरूपणका क्रममा समेत पुर्जाले कानुनी आधार प्रदान गर्नेछ।
कार्यालयका अनुसार धनुषाका विभिन्न स्थानका ४ हजार ३५४ परिवारलाई यसअघि नै जग्गाधनी प्रमाणपुर्जा वितरण भइसकेको छ। नापजाँच सम्पन्न भएर पनि दर्ता तथा पुर्जा वितरण हुन बाँकी रहेका स्ववासी परिवारलाई कानुनी प्रक्रिया पूरा गरी पुर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ।
वर्षौँदेखि जग्गा भएर पनि त्यसको कानुनी स्वामित्व प्रमाणित गर्ने कागजात नहुँदा विभिन्न समस्या झेल्दै आएका परिवारका लागि पुर्जा वितरणसँगै जग्गा कारोबार, बैंकिङ सेवा तथा अन्य प्रशासनिक काम सहज हुने अपेक्षा गरिएको छ।
धनुषामा स्ववासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया लामो समयदेखि अघि बढ्दै आएको छ। नापजाँच पूरा भएका तर विभिन्न कानुनी तथा प्रशासनिक कारणले पुर्जा वितरण हुन नसकेका परिवारलाई प्रक्रिया पूरा गरेर पुर्जा दिने काम जारी रहेको नापी कार्यालयले जनाएको छ।