एआई र नवप्रवर्तनलाई केन्द्रमा राखेर ज्ञानमा आधारित अर्थतन्त्र बनाउँछौँ : प्रधानमन्त्री शाह

1.2k Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकार नेपालको संविधानको अक्षर र भावना दुवैप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्नेहरू इमानदार र निरन्तर सक्रिय नभए संविधान कागजमा मात्र सीमित हुने बताएका हुन् ।

‘संविधान जति राम्रो भए पनि यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्र बन्नेछ,’ उनले भने, ‘म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन ।’

प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न राज्यका संयन्त्र र जिम्मेवार व्यक्तिहरू दृढ भएर अघि बढ्नुपर्ने बताए । उनले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गरे ।

सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संयन्त्रमा राजनीतिक तटस्थता तथा सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्री शाहले बताए ।

उनले सुशासन केवल नारा नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने विषय भएको उल्लेख गर्दै सरकार त्यसका लागि काम गरिरहेको दाबी गरे ।

प्रधानमन्त्री शाहले मुलुकलाई पुरानै शैली र बाटोबाट अघि नबढाउने पनि बताए । बदलिँदो विश्व परिवेशअनुसार कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन र प्रविधिलाई केन्द्रमा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

युवाले खोजेको सुशासनलाई प्रविधिको प्रयोगमार्फत समेत साकार पार्न सरकार केन्द्रित रहेको उनले बताए । प्रविधिको अधिकतम प्रयोगबाट सार्वजनिक सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउने सरकारको उद्देश्य रहेको प्रधानमन्त्री शाहले उल्लेख गरे ।

उनले संविधानले दिएका अधिकार र उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शाहका अनुसार संविधान दिवस विगतका उपलब्धिको स्मरण गर्ने अवसर मात्र नभई संविधानको मर्मअनुसार राज्य सञ्चालन गर्ने प्रतिबद्धता नवीकरण गर्ने दिन पनि हो ।

सम्बन्धित समाचार