काठमाडौं । व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङको ‘एमआईटी ग्रुप फाउन्डेसन’ले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गराउन राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारीपत्र (एमओयू) गरेको छ।
समझदारीअनुसार फाउन्डेसनले बालबालिकाको अवस्थाअनुसार शिक्षा मात्र नभई खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक आवश्यकताका लागि समेत सहयोग गर्नेछ।
भोटेकोसी बाढीका कारण धेरै परिवार प्रभावित हुनुका साथै केही बालबालिकाले अभिभावकसमेत गुमाएका छन्। यस्तो अवस्थामा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन सहयोग आवश्यक रहेको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनको सहयोगले बाढीका कारण पारिवारिक तथा आर्थिक संकटमा परेका बालबालिकालाई विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन तथा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँगको सहकार्यमा योग्य बालबालिकाको पहिचान तथा सहयोग व्यवस्थापन गर्नेछ। सहयोग प्राप्त गर्ने बालबालिकाको अवस्था र आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, आवास र दैनिक जीवनयापनसँग सम्बन्धित खर्च व्यवस्थापन गरिनेछ। व्यवसायी घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत हुन्।
भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै बालबालिकाको शिक्षा र संरक्षणलाई दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। फाउन्डेसनको यो सहयोग सोही आवश्यकता सम्बोधन गर्ने उद्देश्यले केन्द्रित रहेको जनाइएको छ।