एनपीएलमा भित्रिए श्रीलंकाका टी–२० कप्तान चरिथ असलंका

764 Shares

काठमाडौं । श्रीलंकाको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलंका नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

विराटनगर किङ्सले बिहीबार सामाजिक सञ्जालमार्फत असलंकालाई आगामी सिजनका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो। २९ वर्षीय असलंकाले श्रीलंकाका लागि ७७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १ हजार ४६६ रन बनाएका छन्। उनले बलिङतर्फ ७ विकेटसमेत लिएका छन्।

फ्रेन्चाइज क्रिकेटमा समेत राम्रो अनुभव बटुलेका असलंकाले अहिलेसम्म १८५ वटा टी–२० खेल खेलेका छन्। उनले ती खेलमा ३ हजार ७१५ रन बनाउनुका साथै ३७ विकेट लिएका छन्।

असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लङ्का प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा इन्टरनेसनल लिग टी–२० लगायतका चर्चित फ्रेन्चाइज प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

श्रीलंकाली टोलीको नेतृत्व गरिरहेका असलंका अब पहिलोपटक एनपीएलमा देखिने भएका हुन्। उनको आगमनले विराटनगर किङ्सको टोलीमा अन्तर्राष्ट्रिय अनुभव थपिने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुने तालिका छ। प्रतियोगितामा विभिन्न विदेशी खेलाडीको सहभागिता रहने क्रममा विराटनगरले असलंकालाई आफ्नो टोलीमा समेटेको हो।

सम्बन्धित समाचार