पाल्पामा मापसे जाँच कडाइ, पाँच चालकविरुद्ध मुद्दा दर्ता
1.3k
Shares
पाल्पा । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने पाँच चालकविरुद्ध पाल्पा प्रहरीले मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन सञ्चालन गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि पाँच जना चालकलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
मापसे गरेर सवारी चलाउँदा चालकको सवारी नियन्त्रण गर्ने क्षमता कमजोर हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले नियमित रूपमा मापसे जाँच गर्दै आएको छ। विशेषगरी चाडपर्व तथा सवारी आवागमन बढी हुने समयमा मापसे जाँचलाई थप कडाइ गर्ने गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले चालकलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सडक सुरक्षासम्बन्धी नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, यात्रुलाई समेत मापसे गरेका चालकले चलाएको सवारीमा यात्रा नगर्न र जोखिमपूर्ण अवस्था देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।