नदीको बालुवा बेचेर आम्दानी बढाउने सरकारको तयारी, मन्त्री साहले भने– ‘ह्वाइट गोल्ड’ बनाउन सकिन्छ

827 Shares

काठमाडौँ — सरकारले नेपालका नदी तथा खोलामा रहेको बालुवाको व्यवस्थित उत्खनन र उपयोगमार्फत आम्दानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको जनाएको छ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहले नदीको बालुवालाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने गरी नयाँ कानुनी प्रबन्ध गर्न लागिएको जानकारी दिएका हुन्।

समितिमा विचाराधीन ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले नदीजन्य पदार्थको व्यवस्थित उपयोग आवश्यक रहेको बताए।

उनले ‘फोहोरलाई मोहर बनाएजस्तै बालुवालाई ह्वाइट गोल्ड (सेतो सुन) बनाउन सकिन्छ कि भनेर लागेका छौँ’ भने।

मन्त्री साहका अनुसार नदी तथा खोलामा थुप्रिएको बालुवालाई व्यवस्थित रूपमा निकाल्न सके त्यसबाट राज्यले ठूलो आम्दानी प्राप्त गर्न सक्छ। उनले कोसी नदीबाट मात्रै वर्षमा करोडौँ रुपैयाँ बराबरको बालुवा निकाल्न सकिने बताए।

सरकारले नदी तथा खोलाको सफाइसँगै बालुवा तथा अन्य नदीजन्य पदार्थको व्यवस्थापनलाई समेत कानुनी दायरामा ल्याउने तयारी गरेको मन्त्री साहले बताए। उनले खोलाहरू सफा गर्ने लगायतका विषयमा आवश्यक ऐन ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गरे।

बैठकमा मन्त्री साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ समितिबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। विधेयकले खानी तथा खनिज पदार्थको उत्खनन, व्यवस्थापन र उपयोगलाई व्यवस्थित गर्ने सरकारको उद्देश्य रहेको उनको भनाइ थियो।

समितिले शुक्रबार विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न गरेको छ। अब आगामी बैठकहरूमा विधेयकका विभिन्न दफामाथि क्रमशः छलफल गर्ने तयारी गरिएको छ।

 
 
 
सम्बन्धित समाचार