साउदी अरबको आग्रहपछि चीनले इरानलाई हुतीलाई रोक्न आग्रह गर्‍यो

4.2k Shares

काठमाडौं । यमनका हुती विद्रोहीको गतिविधि नियन्त्रण गर्न चीनले इरानसँग आग्रह गरेको छ। पछिल्लो समय हुती समूहले लाल सागर तथा साउदी अरब आसपास आफ्नो सैन्य गतिविधि तीव्र पारेपछि साउदी अरबले चीनसँग कूटनीतिक सहयोग मागेको थियो। त्यसपछि चीनले इरानलाई हुतीमाथि आफ्नो प्रभाव प्रयोग गरी तनाव नियन्त्रण गर्न आग्रह गरेको तीन इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

साउदी अरबको आग्रहपछि बेइजिङले तेहरानसँग निजी रूपमा कुराकानी गर्दै हुतीका गतिविधि नियन्त्रण गर्न सहयोग गर्न भनेको हो। चीनले सार्वजनिक रूपमा भने क्षेत्रीय तनाव कम गर्न, संवाद र वार्ताबाट समस्या समाधान गर्न तथा लाल सागरमा सुरक्षित जलयात्रा सुनिश्चित गर्न आह्वान गर्दै आएको छ।

चीनको यो आग्रह पछिल्लो समय लाल सागर र बाब अल–मन्देब जलडमरू क्षेत्रमा बढेको सैन्य गतिविधिका कारण आएको हो। उक्त क्षेत्र विश्वव्यापी व्यापार तथा ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग मानिन्छ। यहाँको अस्थिरताले तेल आपूर्ति तथा अन्तर्राष्ट्रिय जलयातायातमा थप जोखिम उत्पन्न गर्न सक्ने चिन्ता छ।

इरानी स्रोतका अनुसार तेहरानले भने क्षेत्रीय अस्थिरताको मुख्य कारण अमेरिकी–इजरायली सैन्य कारबाही रहेको प्रतिक्रिया दिएको छ। चीनले इरानमाथि आर्थिक दबाब वा अन्य कारबाहीको चेतावनी भने नदिएको बताइएको छ।

चीन इरानको प्रमुख व्यापारिक साझेदार तथा इरानी तेलको ठूलो खरिदकर्ता भएकाले बेइजिङसँग तेहरानमाथि केही प्रभाव रहेको विश्लेषण गरिएको छ। सन् २०२३ मा चीनले इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित गराउन मध्यस्थता गरेको थियो।

यसैबीच, हुतीमाथि प्रभाव प्रयोग गर्न इरानलाई गरिएको चीनको आग्रह कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयलाई आगामी दिनमा महत्वपूर्ण रूपमा हेरिएको छ।

 
 
 
सम्बन्धित समाचार