टी–२० मा १५ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने जस बट्लर

1.4k Shares

काठमाडौं । इंग्ल्यान्डका ब्याटर जस बट्लर टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। श्रीलंकाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० रन बनाएसँगै बट्लरले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।

कार्डिफमा भएको खेलमा बट्लरले १६ बलमा ३० रन बनाए। यही क्रममा उनले आफ्नो समग्र टी–२० करिअरको रन संख्या १५ हजार पुर्‍याए। उनी ५२८ टी–२० खेलबाट ९ शतक र १०७ अर्धशतकसहित १५ हजार रन बनाउने पहिलो खेलाडी बनेका हुन्।

यसअघि वेस्ट इन्डिजका किरोन पोलार्ड १५ हजार रनको कीर्तिमानको सबैभन्दा नजिक थिए। पोलार्डको नाममा १४ हजार ९९९ रन रहेको छ। उनको टोली ट्रिनबागो नाइट राइडर्स क्यारेबियन प्रिमियर लिगबाट बाहिरिसकेकाले उनले तत्काल यो आँकडा पूरा गर्न नपाउने भएका छन्।

बट्लरले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटसँगै इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, बिग बास लिगलगायत विश्वका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा खेल्दै आएका छन्। ती प्रतियोगितामा गरेको प्रदर्शनले उनलाई टी–२० क्रिकेटका सर्वाधिक रन बनाउने ब्याटरमध्ये अगाडि पुर्‍याएको हो।

टी–२० अन्तर्राष्ट्रियमा समेत बट्लरको प्रभावशाली तथ्यांक छ। उनले १६२ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र २९ अर्धशतकसहित ४ हजार ३२२ रन बनाएका छन्।

श्रीलंकाविरुद्धको उक्त खेलमा इंग्ल्यान्डले १४५ रनको लक्ष्य १२.१ ओभरमै चार विकेट गुमाएर पूरा गरेको थियो। टम ब्यान्टनले २४ बलमा अविजित ५२ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ८ बलमा २३ रन बनाए। इंग्ल्यान्डले एक खेल बाँकी छँदै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको हो।

यस उपलब्धिसँगै बट्लरले टी–२० क्रिकेटको इतिहासमा १५ हजार रनको नयाँ सीमाना पार गर्ने पहिलो ब्याटरका रूपमा आफ्नो नाम लेखाएका छन्।

सम्बन्धित समाचार