ऋण असुलीबाट आएको रकमले सहकारी पीडितको बचत फिर्ता

680 Shares

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सहकारी संस्थाहरूबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने क्रममा पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम उपलब्ध गराइएको हो।

समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरिन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखी सहकारीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।

सरकारले समस्याग्रस्त सहकारीबाट असुल भएको ऋण तथा व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समितिले पनि प्रचलित कानुनी व्यवस्थाअनुसार ऋण असुली र सम्पत्ति व्यवस्थापनको काम अघि बढाउँदै बचत फिर्ता गरिरहेको जनाएको छ।

पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिको भनाइ छ। अब बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्ताको रकमसमेत फिर्ता गर्ने तयारी गरिएको छ।

समस्याग्रस्त सहकारीका कारण लामो समयदेखि बचत फिर्ता पाउन नसकेका सर्वसाधारणले आफ्नो रकम फिर्ताको माग गर्दै आएका छन्। ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट पर्याप्त रकम संकलन हुन सकेमा थप बचतकर्तालाई रकम फिर्ता गर्न सकिने समितिले जनाएको छ।

सम्बन्धित समाचार