सुनसरी । सुनसरीका किसानहरू यतिबेला जुट काट्ने, प्रशोधन गर्ने र बिक्री गर्ने काममा व्यस्त छन्। जुटको डाँठ काटेर त्यसबाट रेसा निकाल्ने काममा किसान तथा श्रमिकलाई भ्याइनभ्याइ भएको छ।
तातो तथा आर्द्र हावापानी र पर्याप्त वर्षा हुने तराई क्षेत्र जुट खेतीका लागि उपयुक्त मानिन्छ। सुनसरीका विभिन्न क्षेत्रमा किसानले लामो समयदेखि जुट खेती गर्दै आएका छन्।
भोक्राहा नरसिंह गाउँपालिका लगायतका क्षेत्रमा अहिले खेतबाट जुट काटेर डाँठ पानीमा गलाउने र त्यसपछि रेसा निकाल्ने काम भइरहेको छ। यसका लागि किसानहरूले दैनिक ज्यालादारीमा श्रमिकसमेत लगाउने गरेका छन्।
पछिल्ला वर्षमा भने सुनसरीमा जुट खेतीको क्षेत्रफल घट्दै गएको छ। उन्नत जातको बीउ, मल तथा सिँचाइको अभाव र जुट प्रशोधनका बेला पर्याप्त पानी नपाउँदा किसानलाई समस्या हुने गरेको कृषि अधिकारीहरूले बताएका छन्।
यद्यपि, अहिले जुट उत्पादनको मुख्य मौसम भएकाले किसानहरू उत्पादन भित्र्याउन र रेसा निकाल्न व्यस्त छन्। जुटको माग तथा मूल्यले किसानको आम्दानीमा समेत प्रभाव पार्ने गरेको छ।