बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल गर्न अर्थमन्त्री वाग्ले दिल्ली पुगे

1.8k Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बाढीपहिरोपछि पुनर्निर्माण तथा नेपाल–भारत आर्थिक सहकार्यका विषयमा छलफल गर्न भारतको नयाँदिल्ली पुगेका छन्।

भारतीय सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा निस्किएका वाग्ले बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक सहकार्य, व्यापार, लगानी तथा दुई देशबीचको आर्थिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।

नेपालमा पछिल्लो समय आएको बाढीपहिरोले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाउने विषयलाई प्राथमिकता दिइएको छ।

अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा भारतीय उद्योगी–व्यवसायी तथा विकाससम्बन्धी विज्ञहरूसँग समेत अन्तरक्रिया गर्नेछन्। उनले नेपालमा आर्थिक पुनरुत्थान, लगानी विस्तार र विकास सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा नेपाल–भारत आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार