विश्वका विभिन्न देशमा इन्धनको मूल्यवृद्धि र बढ्दो जीवनयापन खर्चविरुद्ध प्रदर्शन चर्किन थालेको छ। पछिल्लो समय सिरियामा पेट्रोलियम पदार्थको मूल्य बढाइएपछि विभिन्न शहरमा प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
सिरिया सरकारले डिजेलको मूल्यमा ४० प्रतिशत तथा पेट्रोलको मूल्यमा करिब २५ देखि २८ प्रतिशतसम्म वृद्धि गरेपछि विरोध प्रदर्शन सुरु भएको हो। प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै टायर बालेर मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।
प्रदर्शन सिरियाका हामा, हसाकेह, रक्का, अलेप्पो, इद्लिब र दारा लगायतका क्षेत्रमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही स्थानमा तेल बोक्ने ट्यांकरको आवागमनसमेत रोकिएको थियो। संसद्का ५० भन्दा बढी सदस्यले इन्धन मूल्यवृद्धिबारे ऊर्जा मन्त्री मोहम्मद अल–बशिरसँग स्पष्टीकरण माग गरेका छन्।
सरकारले भने विश्व बजारमा प्रशोधित इन्धनको मूल्य बढ्नु, आयातमा निर्भरता तथा बानियास रिफाइनरीको मर्मतका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ। सरकारले मूल्यवृद्धि अस्थायी रहेको र अन्तर्राष्ट्रिय बजारको अवस्था तथा रिफाइनरीको सञ्चालनअनुसार पुनरावलोकन गरिने बताएको छ।
सिरियामा घरेलु तेल उत्पादन दैनिक करिब १ लाख २ हजार ब्यारेल रहेको भए पनि आन्तरिक माग करिब ३ लाख २५ हजार ब्यारेल प्रतिदिन रहेको बताइएको छ। यसका कारण देश इन्धन आयातमा ठूलो मात्रामा निर्भर छ।
इन्धनको मूल्यवृद्धिको प्रभाव यातायातमा मात्र नभई खाद्यान्न, कृषि, विद्युत् उत्पादन तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्ने भएकाले विभिन्न देशमा महँगीविरुद्ध जनआक्रोश बढिरहेको छ। पछिल्लो घटनाक्रमले विश्व बजारमा इन्धन आपूर्ति र मूल्यको असर प्रत्यक्ष रूपमा आम नागरिकको जीवनयापनमा परेको देखाएको छ।