काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन् २०२६ मा हुने एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने उसु र टेबल टेनिसका टिम म्यानेजरलाई अन्तिम समयमा हटाएको छ।
राखेपले हटाएका टिम म्यानेजरमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना र नेपाल टेबल टेनिस संघका महासचिव कुबेर प्रकाश सिंह रहेका छन्। उनीहरू दुवै सम्बन्धित राष्ट्रिय खेल संघका महासचिवसमेत हुन्।
ढुंगानाका अनुसार राखेपले टिम म्यानेजरका लागि नाम मागेपछि उनको नाम पठाइएको थियो। उनी एसियाली खेलकुदको तयारी तथा नेपाल ओलम्पिक कमिटी र राखेपसँग सम्बन्धित विभिन्न गतिविधिमा समेत संलग्न हुँदै आएका थिए। तर अन्तिम समयमा उनको नाम हटाइएको उनले बताएका छन्।
यस्तै, टेबल टेनिस संघले सिंहको नाम हटाइएकोप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। संघका अनुसार राखेपले करिब सात महिनाअघि माग गरेपछि बैठकबाट खेलाडी र प्रशिक्षकसहित टिम म्यानेजरका रूपमा सिंहको नाम पठाइएको थियो।
संघका अनुसार सिंहले एसियाली खेलकुदको तयारी, सहभागिता र प्रशिक्षणसम्बन्धी राखेपका ६–७ वटा बैठक तथा नेपाल ओलम्पिक कमिटीका दुई बैठकमा टिम म्यानेजरका रूपमा सहभागिता जनाइसकेका थिए। यस्तो अवस्थामा अन्तिम समयमा जिम्मेवारीबाट हटाउँदा निराशा पैदा भएको संघको भनाइ छ।
राखेपले हटाइएका टिम म्यानेजरको स्थानमा कसलाई नयाँ जिम्मेवारी दिइएको हो भन्नेबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।