फिनटेक क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकको नयाँ रणनीतिक खाका

1k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको डिजिटल वित्तीय प्रणालीलाई आधुनिक, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित आगामी पाँच वर्षका लागि फिनटेक रणनीतिको खाका सार्वजनिक गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको रणनीतिले वित्तीय समावेशीकरण, वित्तीय सेवामा पहुँच विस्तार तथा दिगो आर्थिक विकासलाई प्राथमिकता दिएको छ। रणनीतिमार्फत डिजिटल वित्तीय सेवाको विस्तारसँगै वित्तीय क्षेत्रमा नवप्रवर्तन र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

रणनीतिमा नीतिगत सुधार, प्रभावकारी नियमन, भरपर्दो डिजिटल पूर्वाधार तथा सरोकारवालाबीचको सहकार्यलाई मुख्य आधार बनाइएको छ। साथै, वित्तीय सेवाका विकल्प विस्तार गर्ने, सम्भावित जोखिम न्यूनीकरण गर्ने र प्रविधिको प्रयोगमार्फत वित्तीय सेवाको लागत घटाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

राष्ट्र बैंकले रणनीतिक उद्देश्य पूरा गर्न तीन प्रमुख क्षेत्रमा जोड दिएको छ। डिजिटल पूर्वाधारको आधुनिकीकरण, नियमन तथा सुपरीवेक्षणमा आधुनिक प्रविधिको प्रयोग, फिनटेकमैत्री नीतिगत तथा कानुनी व्यवस्था र साइबर सुरक्षासहित सुरक्षित डिजिटल वित्तीय सेवा प्रवाहलाई रणनीतिको प्रमुख आधार बनाइएको छ।

रणनीतिले नयाँ तथा सञ्चालनमा रहेका फिनटेक कम्पनी, अनुमतिप्राप्त वित्तीय संस्था तथा डिजिटल वित्तीय सेवा प्रयोगकर्तालाई समेटेको छ। विशेषगरी साना तथा मझौला उद्योग, ग्रामीण क्षेत्रका बासिन्दा, महिला, युवा, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई विशेष प्राथमिकता दिइएको छ।

पाँच वर्षे रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएपछि नेपालमा सुरक्षित, भरपर्दो, समावेशी, नवप्रवर्तनकारी तथा अन्तर–आबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने राष्ट्र बैंकले विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार