चुरे दोहनले तराई–मधेसमा रसुवाजस्तै महाविपत्ति दोहोरिने खतरा : डा. चन्द्रमोहन यादव

1k Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. चन्द्रमोहन यादवले चुरे क्षेत्रमा भइरहेको वन विनाश तथा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन नरोकिए तराई–मधेसमा रसुवामा जस्तै ठूलो प्राकृतिक विपत्ति दोहोरिन सक्ने चेतावनी दिएका छन्।

उनले चुरे क्षेत्रको संवेदनशीलतालाई बेवास्ता गर्दै भइरहेको उत्खनन, वन विनाश तथा प्राकृतिक स्रोतको दोहनले वातावरणीय जोखिम बढाइरहेको बताए। चुरे पहाड कमजोर बन्दै जाँदा त्यसको प्रत्यक्ष असर तराई–मधेसमा पर्ने उनको भनाइ छ।

डा. यादवले चुरे संरक्षणका लागि सरकारले प्रभावकारी नीति तथा कडा कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। अवैध वन फँडानी तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न राज्यका सम्बन्धित निकाय थप जिम्मेवार बन्नुपर्ने उनले बताए।

उनका अनुसार चुरे क्षेत्रमा हुने क्षतिले भूक्षय, बाढी, नदीको बहावमा परिवर्तन तथा तराई क्षेत्रमा ठूलो जनधनको क्षति निम्त्याउन सक्छ। त्यसैले विपद् आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित नभई जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए।

चुरे संरक्षणलाई प्राथमिकतामा राखेर वातावरणीय सन्तुलन कायम गर्न सके मात्रै भविष्यमा तराई–मधेसलाई सम्भावित ठूलो विपत्तिबाट जोगाउन सकिने डा. यादवको धारणा छ।

सम्बन्धित समाचार