काठमाडौं । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन। सनातन हिन्दू परम्परामा यो दिन जीवित बुवालाई सम्मान गर्दै मीठा परिकार, फलफूल, मिठाई तथा नयाँ वस्त्र दिएर आशीर्वाद लिने गरिन्छ।
बुवाको आशीर्वाद पाए सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वासका कारण कामका सिलसिलामा टाढा रहेका सन्तानसमेत आज घर पुगेर बुवाको मुख हेर्ने गर्छन्।
तर बुवा दिवंगत भइसकेका सन्तानले भने पितृको सम्झनामा विभिन्न तीर्थस्थलमा पुगेर श्राद्ध, तर्पण तथा दानपुण्य गर्ने परम्परा छ। यही क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुको बाक्लो घुइँचो लागेको छ।
दिवंगत बुवाको सम्झनामा श्रद्धालुहरू गोकर्णेश्वर पुगेर स्नान, श्राद्ध तथा तर्पण गरिरहेका छन्। पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूले दिवंगत आत्माको शान्ति तथा पितृउद्धारको कामना गरेका छन्।
काठमाडौंको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरलाई पितृकार्यका लागि महत्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा लिइन्छ। कुशे औँसीका अवसरमा यहाँ हरेक वर्ष ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्छन्।
गोकर्णेश्वरसँगै तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका र बराहक्षेत्रलगायतका तीर्थस्थलमा समेत पितृको सम्झनामा स्नान, श्राद्ध, तर्पण तथा दान गर्नेहरूको भीड लाग्ने गर्छ। गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध तथा तर्पण गरिरहेका श्रद्धालुको भावपूर्ण दृश्यलाई अनलाइनखबरका फोटोपत्रकार चन्द्रबहादुर आलेले क्यामेरामा कैद गरेका छन्।