काठमाडौं । सन् २०२६ को अगस्ट विश्वकै सबैभन्दा तातो महिनामध्ये एक बनेको छ । युरोपेली संघको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस (C3S) का अनुसार अगस्टमा विश्वको औसत सतही हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२३ को जुलाईसँगै अहिलेसम्मकै सबैभन्दा तातो महिनाको रेकर्डमा बराबरी हो ।
अगस्टको तापक्रम औद्योगिक युग सुरु हुनुअघिको सन् १८५०–१९०० को औसतभन्दा १.६५ डिग्री सेल्सियस बढी रहेको वैज्ञानिकहरूले बताएका छन् । नोभेम्बर २०२५ पछि पहिलोपटक कुनै महिनाको विश्वव्यापी औसत तापक्रम पूर्वऔद्योगिक तहभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको हो ।
वैज्ञानिकहरूका अनुसार जीवाश्म इन्धनको निरन्तर प्रयोगबाट बढिरहेको हरितगृह ग्यास उत्सर्जन नै विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारण हो । यससँगै प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो ले पनि तापक्रम थप बढाउन योगदान गरिरहेको छ ।
यस अवधिमा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटना देखिएका छन् । युरोपमा अत्यधिक गर्मी र डढेलो, केही क्षेत्रमा गम्भीर खडेरी तथा नेपाल र तिब्बतमा बाढी–पहिरोजस्ता विपद्का घटना भएका छन् । पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो गर्मीयामसमेत अनुभव गरेको छ ।
यद्यपि वैज्ञानिकहरूले एक महिनाको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्दैमा पेरिस सम्झौताले तय गरेको दीर्घकालीन १.५ डिग्रीको लक्ष्य औपचारिक रूपमा उल्लंघन भएको मान्न नहुने स्पष्ट पारेका छन् । यो लक्ष्य दशकौँको औसत तापक्रमका आधारमा मूल्यांकन गरिन्छ ।