प्रसारण लाइन मर्मतका क्रममा घाइते कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति

1.5k Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई उपचार खर्च र नियमअनुसारको क्षतिपूर्तिबापत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर विद्युत् दुर्घटनामा परी घाइते भएका थिए।

मगर २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन्। दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

१० लाख क्षतिपूर्ति, बाँकी उपचार खर्च

नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार दुर्घटनामा घाइते भएका मगरलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ।

त्यसमा उपचारका क्रममा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ समेत जोड्दा उनले प्राप्त गर्ने कुल रकम १९ लाख ७८ हजार ३०१ रुपैयाँ पुग्छ।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेस्कीका रूपमा बुझिसकेका छन्। अब बाँकी रहेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ उपचार खर्च सम्बन्धित वितरण केन्द्रमार्फत घाइते कर्मचारीलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको हो।

कार्यक्षेत्रमा हुने दुर्घटनामा क्षतिपूर्तिको व्यवस्था

नेपाल विद्युत् प्राधिकरणले कार्यक्षेत्रमा काम गर्ने क्रममा कर्मचारी दुर्घटनामा परी घाइते वा अन्य क्षति भएमा सम्बन्धित विनियमावलीअनुसार उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।

विद्युत् प्रसारण तथा वितरण लाइन मर्मतका क्रममा उच्च भोल्टेजको जोखिम रहने भएकाले प्राविधिक कर्मचारीहरू जोखिमपूर्ण काममा खटिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कार्यस्थलको सुरक्षा मापदण्ड र सावधानी महत्वपूर्ण मानिन्छ।

यस घटनामा पनि प्रसारण लाइनको मर्मत कार्यकै क्रममा कर्मचारी करेन्टको चपेटामा परेका थिए। दुर्घटनापछि उपचारमा लागेको खर्चसमेत समेटेर प्राधिकरणले नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। प्राधिकरण सञ्चालक समिति सदस्य शाहीले बाँकी रकम सम्बन्धित वितरण केन्द्रमार्फत घाइते कर्मचारीलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

सम्बन्धित समाचार