हङकङलाई ३ विकेटले हराउँदै युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

1.8k Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) एसिसी प्रिमियर कपको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा हङकङलाई ३ विकेटले पराजित गर्दै युएई लगातार तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो।

मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलमा भएको खेलमा हङकङले दिएको ७१ रनको सामान्य लक्ष्य युएईले ११.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

युएईका लागि तानिस सुरीले सर्वाधिक २७ रन बनाए। अबीद उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रनको योगदान दिए । हङकङका कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले युएईका एक–एक ब्याटरलाई आउट गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङको इनिङ्स युएईका बलरसामु लामो समय टिक्न सकेन। हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भयो।

हङकङका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा हङकङ न्यून योगफलमा सीमित भयो।

युएईका बलर हैदर अलीले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १४ रन खर्चिएर ६ विकेट लिए। उनको घातक बलिङका कारण हङकङको ब्याटिङ क्रम लगातार धराशायी भएको थियो। अब युएईले उपाधिका लागि अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

अर्को सेमिफाइनलमा नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ओमानलाई पराजित गरेमा एसिसी प्रिमियर कपको फाइनलमा युएईसँग उपाधिका लागि भिड्नेछ।

सम्बन्धित समाचार