सेमिफाइनलमा नेपालको खराब ब्याटिङ, ओमानसामु १४८ रनको चुनौती

1.9k Shares

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसामु १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर २ बलमा १४७ रनमा अलआउट भएको हो ।

फाइनल प्रवेशका लागि खेलिरहेको नेपालका अधिकांश ब्याट्सम्यान चल्न नसक्दा टोलीले अपेक्षाकृत कमजोर योगफलमा चित्त बुझाउनुपरेको छ । नेपालको सुरुवात नै खराब रह्यो । ओपनर आशिफ शेख ११ रनमा आउट हुँदा देव खनालले १३ रन बनाए । इशान पाण्डेले १ तथा रोहित पौडेलले ३ रन मात्रै जोड्न सके ।

मध्यक्रम पनि चल्न नसकेपछि नेपाल दबाबमा परेको थियो । गुल्सन झा ७ र करण केसी ५ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले पनि ३ रनभन्दा बढी जोड्न सकेनन् । अन्तिमक्रममा आएका शेर मल्ल र ललितनारायण राजवंशी खाता नखोल्दै आउट भएपछि नेपाल १४७ रनमा समेटिएको हो ।

दीपेन्द्र–बसिरले सम्हालेको इनिङ्स

नेपाल संकटमा परेका बेला दीपेन्द्रसिंह ऐरी र बसिर अहमेदले पाँचौँ विकेटका लागि महत्वपूर्ण ९३ रनको साझेदारी गरे । यही साझेदारीका कारण नेपालले सम्मानजनक योगफलतर्फ अघि बढ्ने सम्भावना बनाएको थियो ।

दीपेन्द्रले ७६ बलमा ५१ रन बनाए । उनले जिम्मेवार ब्याटिङ गर्दै अर्धशतक पूरा गरे पनि ठूलो योगफल बनाउन सकेनन् । बसिरले ८८ बलको सामना गर्दै ४७ रनको योगदान दिए ।

यी दुईको साझेदारी टुटेपछि भने नेपालको पुछारका ब्याट्सम्यानले लामो समय क्रिजमा टिक्न सकेनन् । परिणामस्वरूप नेपाल १५० रनको आसपासमै अलआउट हुन पुग्यो ।

ओमानको बलिङ प्रभावकारी

नेपाललाई सस्तैमा समेट्ने क्रममा ओमानका जय विराम ओडेदाराले ३ विकेट लिए । त्यस्तै हसनैन शाह र रमोहम्मद इमरानले समान २–२ विकेट लिए ।

ओमानका बलरहरूले नेपालको शीर्ष र मध्यक्रमलाई लगातार दबाबमा राख्दा नेपाली ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । सुरुवाती विकेटहरू छिटो गुमाएपछि नेपालले इनिङ्सको ठूलो हिस्सा दबाबमै खेलेको थियो ।

अब ओमानले १४८ रनको लक्ष्य पछ्याउनेछ । नेपालका लागि भने सामान्य लक्ष्यको रक्षा गर्दै फाइनल प्रवेश गर्नु चुनौतीपूर्ण हुनेछ ।

एसिया कप छनोटको दाउ

एसीसी पुरुष प्रिमियर कपको यो सेमिफाइनल नेपालका लागि फाइनल प्रवेशसँगै एसिया कप छनोटको दृष्टिले पनि महत्वपूर्ण छ । प्रतियोगिताको विजेता टोली एसिया कपमा छनोट हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो भने अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो । हारका बाबजुद नेपाल समूह विजेता बनेको थियो ।

ओमान भने समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । अब नेपालले बलिङमा अनुशासित प्रदर्शन गर्दै ओमानलाई १४७ रनभित्र रोक्नुपर्नेछ । कमजोर ब्याटिङपछि खेलमा फर्किन नेपाली बलरमाथि ठूलो जिम्मेवारी आएको छ ।

सम्बन्धित समाचार