चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि सेनाले माग्यो कुलमानको सहयोग
1k
Shares
रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहयोग मागेको छ।
सुरुङभित्रको जटिल अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेपछि सेनाले प्राविधिक तथा व्यवस्थापकीय सहयोगका लागि कुलमानसँग समन्वय गरेको हो। सुरुङको संरचना, विद्युत् प्रणाली तथा आयोजनासँग सम्बन्धित प्राविधिक पक्षबारे जानकारी लिएर उद्धारलाई प्रभावकारी बनाउन खोजिएको छ।
विपद्का कारण चिलिमे क्षेत्रमा पहुँचमार्ग तथा आयोजनाका संरचनामा समेत असर परेको छ। सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे जानकारी लिँदै सुरक्षाकर्मी तथा प्राविधिक टोलीले उद्धार प्रयास जारी राखेका छन्।
उद्धारका क्रममा सुरुङभित्रको अवस्था, पानीको बहाव तथा अन्य जोखिमलाई ध्यानमा राखेर आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनासहित सम्बन्धित निकायका टोली उद्धारमा खटिएका छन्।
सुरुङभित्र फसेकाको सकुशल उद्धारलाई प्राथमिकतामा राख्दै प्राविधिक विज्ञ तथा आयोजनासँग सम्बन्धित निकायबीच समन्वय गरेर अभियान अघि बढाइएको जनाइएको छ।