नेपाल भलिबल लिगको क्रेज बढ्दो, कोर्टमा प्रतिस्पर्धा र दर्शकमा उत्साह

1k Shares

काठमाडौँ । नेपालको पुरुष भलिबलमा पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज लिगले कोर्टभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै दर्शकमा पनि उत्साह बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा खेल हेर्न दर्शकको बाक्लो उपस्थिति देखिन थालेको छ ।

दिउँसो ३ बज्न नपाउँदै कभर्डहल आसपास चहलपहल बढ्ने गरेको छ । खेलाडीको स्पाइक, ब्लक र सर्भिसबाट अंक आएपछि दर्शकदीर्घाबाट हुटिङ र नाराबाजी सुनिन्छ । खेल सकिएपछि पनि समर्थकहरू मन परेका खेलाडीसँग फोटो खिचाउन झुम्मिने गरेका छन् ।

नेपाल भलिबल लिग (एनभीएल) मा उत्कृष्ट विदेशी खेलाडीको आगमन, नेपाली खेलाडीको जोशिलो प्रदर्शन र दर्शकको उत्साहजनक उपस्थितिले प्रतियोगिताको चर्चा बढाएको छ । राष्ट्रिय टोली तथा राष्ट्रिय प्रतियोगिता हेर्दै आएका दर्शकहरू अहिले आफ्नो क्षेत्रका फ्रेन्चाइज टोलीका समर्थक बनेका छन् ।

बाढीपीडितलाई ५ लाख ९० हजार सहयोग

रसुवाको भोटेकोशी बाढीपछि देश शोकमा रहेका बेला पनि सकारात्मक सन्देश दिने उद्देश्यले एनभीएल सञ्चालन गरिएको आयोजकले जनाएको छ । पहिलो दिनको दुई खेलमा टिकट बिक्रीबाट उठेको सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो ।

एनभीएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानका अनुसार पहिलो दिनको टिकट बिक्रीबाट उठेको ५ लाख ९० हजार ११० रुपैयाँ उद्धार कोषमा जम्मा गरिएको छ । यस्तै, केडिया परिवारले पनि उक्त कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

कर्णाली शिवराज अपराजित

केडिया ग्रुपको आयोजनामा भइरहेको एनभीएलमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणका १५ मध्ये १० खेल सकिँदा कर्णाली शिवराज लगातार तीन खेल जित्दै एक्लो अपराजित टोली बनेको छ ।

कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई ३–१ को सेटमा पराजित गरेको थियो । त्यसपछि खप्तड फाल्कन्सलाई सोझो सेटमा हराएको कर्णालीले सगरमाथा स्म्यासर्सविरुद्ध पाँचौँ सेटमा पुगेर ३–२ को जित हात पारेको हो ।

लिगमा कर्णाली ८ अंकसहित शीर्ष स्थानमा छ । सगरमाथा स्म्यासर्स ७ अंकसहित दोस्रो र अन्नपूर्ण स्पाइकर किंग्स ६ अंकसहित तेस्रो स्थानमा छन् । काठमाडौं रेड्स ५ अंकसहित चौथो स्थानमा रहेको छ ।

विदेशी खेलाडीको उपस्थितिले थप आकर्षण

एनभीएलको पहिलो संस्करणमा १० देशका १८ विदेशी खेलाडी विभिन्न ६ फ्रेन्चाइज टोलीबाट सहभागी छन् । पाकिस्तानबाट पाँच, भारत र मंगोलियाबाट तीन–तीन खेलाडी खेलिरहेका छन् । इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्बिया, ब्राजिल र बेनिनबाट पनि खेलाडी सहभागी छन् ।

विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग घरेलु कोर्टमै प्रतिस्पर्धा गर्ने अवसर दिएको छ । आयोजकले यस लिगमार्फत नेपाली पुरुष भलिबललाई व्यावसायिकतातर्फ अघि बढाउने अपेक्षा गरेको छ ।

एनभीएलले नेपाली भलिबलमा नयाँ दर्शक जोड्नुका साथै फ्रेन्चाइज खेलकुदको सम्भावनालाई पनि उजागर गरेको देखिन्छ ।

 
 
सम्बन्धित समाचार