कर्णाली । कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको पाइएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यसको पहिचान, उपचार, रोकथाम तथा न्यूनीकरणमा जोड दिएको हो ।
मन्त्रालयका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा बढी देखिएको छ । समस्या न्यूनीकरण तथा रोकथामका लागि मुलुकका सात प्रदेशमध्ये कर्णालीले सबैभन्दा पहिला मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना २०७९–२०८७ निर्माण गरेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को भदौदेखि नै मन्त्रालयले मानसिक स्वास्थ्य सुदृढीकरणका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा जनप्रतिनिधिलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ११ प्रतिशत अर्थात् एक लाख ८५ हजार ७२५ नागरिकमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।
समयमै पहिचान, उपचार तथा रोकथाम गर्न सके समस्या न्यूनीकरण गर्न सकिने भएकाले मन्त्रालयले सचेतना तथा अभिमुखीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
मन्त्रालयका मानसिक स्वास्थ्य सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेका अनुसार कर्णालीका करिब ३० हजार मानिसले अहिले पनि मानसिक रोगको औषधि सेवन गरिरहेका छन् । उनका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै ठूलो सङ्ख्यामा देखिएकाले समयमै पहिचान गरी समस्या बढ्न नदिन आवश्यक कार्यक्रम विस्तार गरिएको छ ।
गैरेले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम कर्णालीका दशवटै जिल्लामा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै समस्या पहिचान र आवश्यक उपचारका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रदेश सरकारले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने वा बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्दै समयमै उपचारमा पहुँच बढाउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ ।