अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनका गढ भत्काउने डेमोक्रेटिक लक्ष्य

1.3k Shares

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै जाँदा डेमोक्रेटिक पार्टीले परम्परागत रूपमा रिपब्लिकनको बलियो पकड रहेका क्षेत्रमा समेत चुनावी चुनौती बढाउने रणनीति अघि सारेको छ। प्रतिनिधिसभाका सबै ४३५ सिट तथा सिनेटका ३५ सिटका लागि निर्वाचन हुँदैछ।

डेमोक्रेटहरूले रिपब्लिकनले जित्दै आएका केही सुरक्षित मानिएका निर्वाचन क्षेत्रलाई समेत आफ्नो चुनावी लक्ष्यमा समेटेका छन्। पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको घट्दो लोकप्रियता, महँगी तथा आर्थिक असन्तुष्टिलाई आफ्नो पक्षमा मत आकर्षित गर्ने मुख्य आधारका रूपमा उपयोग गर्न खोजिरहेको छ।

पछिल्लो समय डेमोक्रेटिक उम्मेदवारहरूले परम्परागत रिपब्लिकन क्षेत्रहरूमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेका छन्। यसले आगामी निर्वाचनमा ‘ब्लु वेभ’ अर्थात् डेमोक्रेटिक लहर आउन सक्ने सम्भावनाबारे समेत चर्चा बढाएको छ।

रिपब्लिकनहरू भने आफ्नो पकड कायम राख्न ट्रम्पको प्रभाव, पार्टीको चुनावी संगठन तथा पुनःनिर्धारित निर्वाचन क्षेत्रबाट प्राप्त लाभलाई उपयोग गर्ने रणनीतिमा छन्। ट्रम्प स्वयंले रिपब्लिकन उम्मेदवारका पक्षमा सक्रिय रूपमा प्रचार गर्ने प्रतिबद्धता जनाएका छन्।

मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत फर्काउन सके ट्रम्प प्रशासनका नीति तथा निर्णयमाथि कडा संसदीय निगरानी बढ्नेछ। त्यसैले यसपटकको निर्वाचनलाई अमेरिकी राजनीतिमा रिपब्लिकन र डेमोक्रेटबीचको शक्ति सन्तुलन निर्धारण गर्ने महत्वपूर्ण चुनावका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार