काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा सोमबार बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी बोली लगाउँदै एनपीएलको प्रसारण अधिकार सुरक्षित गरेको हो । करबाहेक यो रकम १४ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
हिमालय स्पोर्ट्सले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकारको मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो । यस्तै, यस वर्ष क्यानले तोकेको न्यूनतम बोलकबोल रकमभन्दा यो रकम झण्डै साढे दुई गुणा बढी रहेको जनाइएको छ ।
हिमालय स्पोर्ट्सले विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ । कम्पनीले एनपीएलप्रति ठूलो स्तरको लगानी आवश्यक रहेको विश्वास व्यक्त गर्दै नेपाली क्रिकेटप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको बताएको छ ।
‘एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो। नेपाल क्रिकेट संघले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद प्रोपर्टीका रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,’ कम्पनीले भनेको छ ।
एनपीएलको बढ्दो व्यावसायिक मूल्यले खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा हासिल गर्न सकिने उपलब्धिको उदाहरण प्रस्तुत गरेको हिमालय स्पोर्ट्सको निष्कर्ष छ ।
कम्पनीका अनुसार एनपीएलको आर्थिक मूल्यमा भएको वृद्धिले समग्र नेपाली क्रिकेट इकोसिस्टमलाई बलियो बनाउन, थप स्रोतसाधन जुटाउन तथा खेलको विकासका लागि नयाँ अवसर सिर्जना गर्न योगदान पुर्याउनेछ ।
हिमालय स्पोर्ट्सले प्रसारण अधिकार खरिदलाई केवल व्यावसायिक सम्झौताका रूपमा मात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएको जनाएको छ । आगामी एनपीएललाई गुणस्तरीय प्रसारणसहित फराकिलो दर्शकमाझ पुर्याउने कम्पनीको प्रतिबद्धता छ ।