राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

1.2k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।

यसअघि राष्ट्रपति पौडेलले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएर उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलले बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका प्रयास र विपद्बाट उत्पन्न परिस्थितिबारे सम्बोधनमार्फत धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोटसहित त्रिशूली नदी आसपासका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीपहिरोका कारण नागरिक विस्थापित हुनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ ।

राष्ट्रपति पौडेलले प्रभावित नागरिकको अवस्था र क्षतिग्रस्त संरचनाको निरीक्षणपछि सरकार तथा सम्बन्धित निकायको राहत, उद्धार र पुनर्स्थापना प्रयासका विषयमा समेत सम्बोधनमा धारणा राख्ने बताइएको छ ।

सम्बन्धित समाचार