काठमाडौँ । सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले जे कसम खाएका छौँ, त्यसलाई पूरा गर्छौं।”
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरूको सम्मानमा स्मारक निर्माण गर्न लागिएको हो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो। यसैबीच, यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।