अमेरिकासँगको तेल सम्झौतापछि भेनेजुएलामा लगानीको बाढी आउने अपेक्षा

1.6k Shares

काठमाडौं । अमेरिका र भेनेजुएलाबीच भएको नयाँ तेल सम्झौतापछि भेनेजुएलाको तेल तथा ऊर्जा क्षेत्रमा ठूलो परिमाणमा विदेशी लगानी भित्रिने अपेक्षा गरिएको छ। लामो समयदेखि आर्थिक संकट र लगानी अभाव झेलिरहेको भेनेजुएलाले अमेरिकी तथा निजी क्षेत्रको लगानीमार्फत आफ्नो तेल उद्योग पुनर्जीवित गर्ने लक्ष्य लिएको छ।

सम्झौताअन्तर्गत भेनेजुएलाका महत्वपूर्ण तेल क्षेत्रमा अमेरिकी कम्पनीहरूको पहुँच बढ्नेछ। भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार रहे पनि कमजोर पूर्वाधार, पर्याप्त लगानीको अभाव र लामो आर्थिक संकटका कारण उत्पादन क्षमता विगतको तुलनामा निकै घटेको छ।

भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले तेल क्षेत्रमा निजी तथा विदेशी लगानी भित्र्याएर अर्थतन्त्रलाई पुनर्जीवित गर्ने बताएकी छन्। उनका अनुसार नयाँ सम्झौताबाट करिब १०० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने अपेक्षा गरिएको छ। साथै, यसबाट सरकारलाई ठूलो मात्रामा कर राजस्व प्राप्त हुने दाबी गरिएको छ।

अमेरिका र भेनेजुएलाबीचको सम्झौताले तेल उत्पादन बढाउने र विश्व बजारमा कच्चा तेलको आपूर्ति विस्तार गर्ने अपेक्षा गरिएको छ। यद्यपि, भेनेजुएलाको जीर्ण तेल पूर्वाधारका कारण लगानीको प्रतिफल र उत्पादन वृद्धि तत्काल हासिल गर्न चुनौतीपूर्ण हुने ऊर्जा विज्ञहरूले बताएका छन्।

यसैबीच, सम्झौताको पारदर्शिता, प्राकृतिक स्रोतमा विदेशी प्रभाव र देशले पाउने वास्तविक लाभबारे भेनेजुएलाभित्रै प्रश्न उठिरहेका छन्। विपक्षी तथा केही समाजवादी समूहले सम्झौताका सर्तप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सम्पत्तिमाथि विदेशी नियन्त्रण बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

 
 
 
सम्बन्धित समाचार