काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सरकारले कहिल्यै एक्लो नछोड्ने बताएका छन्। नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले खोज तथा उद्धारमा अझै आशा कायम रहेको प्रधानमन्त्री शाहले बताएका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले सिंगो देशलाई आशा दिएको उल्लेख गरेका छन्।
“बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिंगो देशलाई नै आशा दिएको छ,” उनले लेखेका छन्।
उनले चन्द्रिकाको उद्धारले राज्यका संयन्त्र खोज तथा उद्धारमा अझै दृढतापूर्वक लागिरहेको सन्देश दिएको पनि बताएका छन्।
“यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो,” प्रधानमन्त्री शाहले भनेका छन्।
प्रधानमन्त्रीले बाढी प्रभावित नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गराउन सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। उनले प्रभावित नागरिकलाई धैर्य राख्न आग्रह गर्दै राज्यले उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राखेको जनाएका छन्।
भोटेकोशी बाढीपछि नुवाकोट, रसुवा, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी धेरै नागरिक बेपत्ता छन् भने विभिन्न स्थानमा उद्धार तथा खोजी कार्य जारी छ।
बेत्रावतीमा घर बाढी र पहिरोको भग्नावशेषमा पुरिएपछि चन्द्रिका श्रेष्ठ सम्पर्कविहीन भएकी थिइन्। लामो समयपछि उद्धार टोलीले उनलाई जीवितै फेला पारेको हो।
उनको उद्धारपछि थप व्यक्तिलाई समेत जीवितै उद्धार गर्न सकिने आशा बढेको उद्धारमा संलग्न सुरक्षाकर्मीहरूले बताएका छन्। सरकारले खोज तथा उद्धारका लागि सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई परिचालन गरिरहेको जनाएको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित सबै नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।