पोखरा । संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ आयोजना हुने भएको छ।
प्रतियोगिताको पहिलो संस्करण आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ। सबै खेल शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा हुनेछन्।
लिगमा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोलीले कुल सात खेलमा प्रतिस्पर्धा गर्नेछन्। खेलहरू प्रत्येक शनिबार राति ९ बजे र ११ः५९ बजे हुनेछन्। सेप्टेम्बर २६ मा फाइनल खेलसँगै समापन समारोह आयोजना गरिनेछ।
प्रतियोगिताको नियमअनुसार १७ सदस्यीय टोलीमा ११ सदस्यीय खेल सेट बनाउँदा कम्तीमा नौ जना नेपाली र बढीमा तीन जना विदेशी खेलाडी समावेश गर्न पाइनेछ। यस व्यवस्थाले यूएईमा रहेका नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
प्रतियोगिताको विजेताले पाँच हजार यूएई दिराम तथा उपविजेताले दुई हजार दिराम पुरस्कार प्राप्त गर्नेछन्। दुवै टोलीले ट्रफी र पदक पाउनेछन् भने व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।
दर्शकको सुविधाका लागि आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट खेल मैदानसम्म निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। प्रतियोगिताको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजकले नेपालका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेको जनाएको छ।
दुबईस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ र नेपाल कन्सुलेट जनरल, दुबईका कन्सुल कुञ्जन शाहले प्रवासी नेपाली प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
मुख्य प्रायोजक जीसीडी ग्रुप र प्लाटिनियम स्पोन्सर अल फरदान एक्सचेन्ज रहेको प्रतियोगिताले यूएईमा नेपाली क्रिकेटको विकास तथा प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।