काठमाडौँ । रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन सुरु गरिएको छ।
बाढीमा बेपत्ता भएका व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि आफन्तको डीएनए नमूना संकलन थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले नमूना संकलन सुरु गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार अहिलेसम्म सुदूरपश्चिममा १४ जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ। कञ्चनपुर र कैलालीका ६–६ जना तथा डडेल्धुराका दुई जनाको नमूना संकलन गरिएको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी २०९ जना बेपत्ता भएका थिए। तीमध्ये ५९ जना सम्पर्कमा आइसकेका छन्। प्रदेश प्रहरी प्रवक्ता विष्टका अनुसार कैलालीका ४६, कञ्चनपुरका १०, बाजुराका दुई र डडेल्धुराका एक जना सम्पर्कमा आएका हुन्।
सुदूरपश्चिमका विभिन्न जिल्लाका १५० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। तीमध्ये कञ्चनपुरका ३६, डडेल्धुरा र बाजुराका १६–१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, बझाङ र अछामका दुई–दुई जना छन्।
प्रहरीका अनुसार भोटेकोशी नदीको बाढीमा मृत्यु भएका तथा बेपत्ता भएकाहरूका ९७२ जना आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको छ।
नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्म बाढीमा परी मृत्यु भएका एक हजार ३४४ जनाको शव फेला परेको जनाएको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।