काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव हटाउन उद्योगीहरूले उपत्यकाबाहिर बोटलिङ गरी सिलिन्डर ल्याउन थालेका छन्। नेपाल आयल निगमले अनुमति दिएपछि उद्योगीहरूले वैकल्पिक मार्ग र ढुवानी व्यवस्थामार्फत ग्यास आपूर्ति सहज बनाउन पहल गरेका हुन्।
नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिन्डर उपत्यकाबाहिर लैजाने र भरिएका सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइरहेका छन्। संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार चितवनस्थित नेपाल ग्यास गण्डकीमा सिलिन्डर भर्ने काम भइरहेको छ। केही दिनभित्र दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौं ल्याउने तयारी गरिएको छ।
अन्य उद्योगहरूले पनि विभिन्न स्थानमा रहेका ग्यास प्लान्टमा सिलिन्डर भरेर उपत्यका पठाउन थालेका छन्। मकवानपुर, चितवन, नवलपरासी र काभ्रेलगायतका उद्योगबाट वैकल्पिक मार्ग हुँदै ग्यास ढुवानी भइरहेको जनाइएको छ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर आवश्यक पर्छ। अहिले अभावका कारण माग बढेको छ। उद्योगीहरूले केही दिनमै आपूर्ति सहज हुने दाबी गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र सिलिन्डर साट्न र मौज्दात नगर्न आग्रह गरेका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि निजी ग्यास कम्पनीसँग सहकार्य गरी आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भरेर काठमाडौं ल्याउन थालेको छ। धादिङको जुगेखोलास्थित प्लान्टमा बुलेट आउन नसकेपछि अन्य स्थानमा रहेका प्लान्टमार्फत ग्यास भर्ने व्यवस्था मिलाइएको हो।
कर्पोरेसनले उपभोक्तालाई ग्यास अभाव हुन नदिन कुपन प्रणालीमार्फत बिक्री–वितरण गरिरहेको जनाएको छ। तर, नेपाल आयल निगमबाट प्राप्त न्यून कोटाका कारण पर्याप्त ग्यास बिक्री गर्न कठिनाइ भइरहेको जनाइएको छ।
संघका अनुसार भारतबाट गत महिना ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको थियो। उद्योगीहरूले आपूर्ति निरन्तर रहेकाले दीर्घकालीन अभावको अवस्था नरहेको बताएका छन्।