चीनबाट नेपाललाई दुई बेलिब्रिज निर्माण सामग्री सहयोग

1.2k Shares

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि दुई वटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्री हस्तान्तरण गरेको छ।

शुक्रबार चीनको सिगात्सेस्थित रिझी नाकामा आयोजित कार्यक्रममा उक्त सामग्री नेपाली पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

सहयोगमा बेली प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिम लगायतका सामग्री छन्। यी सामग्रीबाट दुई वटा बेलिब्रिज निर्माण गर्न सकिने जनाइएको छ।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना, उद्धार तथा राहत कार्यमा यी बेलिब्रिज उपयोगी हुने अपेक्षा गरिएको छ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा समेत सहयोग हस्तान्तरणसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। नेपाली पक्षबाट महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सहयोगसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।

नेपालले विपद्को समयमा चीनले गरेको शीघ्र सहयोगप्रति आभार व्यक्त गरेको छ।

 
 
 
सम्बन्धित समाचार