अन्डाको मूल्यमा नयाँ रेकर्ड, प्रतिक्रेट १५ रुपैयाँ बढ्यो

1.4k Shares

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन बिक्री मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएसँगै अन्डाको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डा प्रतिक्रेट ६ सय ५ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ५ सय ९० रुपैयाँ थियो । त्यस्तै, ठूलो अन्डाको मूल्य ५ सय ७५ बाट बढेर ५ सय ९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट बढेर ५ सय ५० रुपैयाँ कायम भएको छ ।

सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँमै यथावत् राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्यतर्फ ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ भने मिडियम अन्डा दुई वटा खरिद गर्दा ४५ रुपैयाँ, अर्थात् प्रतिगोटा साढे २२ रुपैयाँ पर्नेछ ।

संघका सचिव मदन पोखरेलका अनुसार चितवनलाई आधार मानेर देशभरिका लागि मूल्य निर्धारण गरिएको हो । कुखुराको दाना, औषधि र ढुवानी खर्चमा निरन्तर वृद्धि भएकाले किसान मर्कामा परेको भन्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

सम्बन्धित समाचार