काठमाडौँमा ग्यास सिलिन्डर अब २ हजार १६५ रुपियाँ

1.9k Shares

काठमाडौँ । ग्यास उद्योगीले काठमाडौँ उपत्यकाका लागि एलपी ग्यास सिलिन्डरको मूल्य बढाएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले बिहीबार निर्णय गर्दै प्रतिसिलिन्डर १०५ रुपियाँ ३८ पैसा बढाएको हो ।

नयाँ मूल्यअनुसार अब उपत्यकामा ग्यास सिलिन्डर दुई हजार १६५ रुपियाँ ३८ पैसा पर्नेछ । यसअघि प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँमा बिक्री हुँदै आएको थियो ।

सङ्घका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा गएको पहिरोका कारण ग्यास उद्योगले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास भरण गरेर ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढ्ने भएकाले मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ ।

भदौ १४ गते आइतबार कृष्णभिरमा पहिरो गएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्दै आएका उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगमा ग्यास भरण गरी वैकल्पिक मार्गबाट उपत्यकामा ल्याउन अनुमति दिएको थियो ।

यसैबीच, सङ्घले ग्यास उद्योगी तथा विक्रेतालाई नयाँ सिलिन्डर बिक्री नगर्न अनुरोध गरेको छ । ढुवानी लागत वृद्धि र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याका कारण मूल्य समायोजन गरिएको सङ्घले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार