दुःखद बाध्यता : थातथलो छाडेर काजकिरिया

1.2k Shares

रसुवाको उत्तरगया गाउँपालिका–५ पहरेबेँसीका बाढीपीडित परिवारले आठ दिनसम्म सम्पर्कविहीन आफन्त फर्किने आशा राखे। खोजी टोलीले आफन्त भेटेको खबर आउला भन्ने प्रतीक्षामा रहेका उनीहरू अहिले भने निराश बन्न थालेका छन्। आफन्त जीवितै फर्किने सम्भावना न्यून देखिएपछि केही परिवारले काजकिरिया सुरु गर्ने तयारी गरेका छन्।

पहरेबेँसीमा बाढीले ४९ घर बगाएको छ। स्थानीयले संकलन गरेको विवरणअनुसार उत्तरगया–४ का मात्रै ५४ जना सम्पर्कविहीन छन्। अन्य क्षेत्रबाट आएका मानिससमेत जोड्दा बेपत्ता हुनेको संख्या ७० भन्दा बढी हुन सक्ने स्थानीयको अनुमान छ। अहिलेसम्म भेटिएका शवमध्ये पहरेबेँसीका स्थानीयले एउटा शव मात्रै पहिचान गरी अन्त्येष्टि गरेका छन्।

स्थानीय रामचन्द्र थापा मगरका अनुसार आठ दिनसम्म आफन्तको कुनै खबर नआएपछि छरछिमेकसँग छलफल गरेर सम्पर्कविहीन आफन्त फर्कने आशा छाड्दै काजकिरिया गर्ने निष्कर्षमा पुगेका हुन्।

काजकिरिया गर्न पनि समस्या

बाढीले पुरानो बस्तीको ठूलो हिस्सा बगाएपछि मृत्यु संस्कार गर्ने ठाउँको समेत अभाव भएको छ। विस्थापितहरू अहिले माझगाउँ र कुवापानीका शिविरमा बसिरहेका छन्। एउटै ठाउँमा धेरै परिवार बसेकाले छुट्टाछुट्टै काजकिरिया गर्न कठिन भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

त्यसमाथि काजकिरिया गराउने पुरोहितको समेत अभाव छ। बाढीबाट ठूलो क्षति भएपछि पहिले संस्कार गराउँदै आएका कतिपय पुरोहितसमेत आफैं शोकमा छन्।

परम्पराअनुसार आठौँ दिनमा कुशको मानिस बनाएर अन्त्येष्टि गर्ने, क्षेत्रबास बस्ने र त्यसपछि काजकिरियाका प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। १३ दिनभित्र संस्कार पूरा गर्नुपर्ने भएकाले शव नभेटिए पनि समुदायको सहमतिमा धार्मिक संस्कार अघि बढाउने तयारी गरिएको हो।

परिवार नै गुमाउनेको पीडा

बाढीले पहरेबेँसीका धेरै परिवारलाई तहसनहस बनाएको छ। कसैले आमा–बुबा गुमाएका छन् भने कसैले श्रीमान्, श्रीमती वा छोराछोरी गुमाएका छन्। कतिपय परिवारका अधिकांश सदस्य नै सम्पर्कविहीन छन्।

स्थानीयका अनुसार एउटा परिवारका १० जना सदस्य सम्पर्कविहीन छन् भने एक बालक मात्रै बाँकी छन्। अर्को परिवारमा चारमध्ये तीन जना बेपत्ता छन् र एउटी सानी बालिका मात्रै बाँचेकी छन्। यस्ता बालबालिकालाई अहिले आफन्तले संरक्षणमा राखेका छन्।

बाढीले घर, खेतबारी र सम्पत्तिसँगै आफन्तसमेत गुमाएका पीडितहरू अहिले शिविरमा बसेर भविष्यको चिन्तामा छन्। काजकिरियाका लागि समेत आफ्नो थातथलोमा ठाउँ नभएपछि २० भन्दा बढी परिवार काठमाडौं तथा अन्यत्र जान बाध्य भएका छन्।

सम्बन्धित समाचार