रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना, राति भारी वर्षा हुनसक्ने
1.7k
Shares
भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार ती जिल्लामा दिउँसो भारी वर्षाको सम्भावना न्यून रहे पनि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
मौसमविद् अधिकारीका अनुसार मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना कम छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको अनुमान छ।
वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भएकाले विभागले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।