काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको दोस्रो खेल खेल्न लागेको हो। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। सोही लयलाई निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली मलेसियाविरुद्ध मैदानमा उत्रिँदैछ।
प्रतियोगितामा १० टोली सहभागी छन्। उनीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
नेपाल र मलेसियाबीच पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। हालै सम्पन्न दुई अभ्यास खेलमा समेत नेपालले मलेसियालाई पराजित गरेको थियो।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै स्थान बनाउनेछ। त्यसैले नेपालका लागि मलेसियाविरुद्धको खेल उपाधि यात्राका दृष्टिले महत्वपूर्ण रहेको छ।