आज पनि ठूलो पानी पर्ने सम्भावना, यी क्षेत्रमा बढी जोखिम

918 Shares

काठमाडौँ । देशका विभिन्न भू–भागमा आज पनि वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर आसपास रहेको छ।

हाल बिहान कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान गरिएको छ।

यसैबीच, पछिल्लो समय देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका कारण भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार