ग्लोबल आइएमईका शेयरधनीलाई बोनस र नगदसहित १० प्रतिशत लाभांश

1.2k Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

आधुनिक प्रविधि तथा उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले विगतमा विभिन्न प्रतिष्ठित उपाधि प्राप्त गरिसकेको छ।

बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।

बैंकका अनुसार देशभर एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराइँदै आएको छ।

यसैगरी, ग्लोबल आइएमई बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ।

रेमिट्यान्स कारोबारमार्फत बैंकले नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार