पश्चिम एसियामा तनाव, तेलको मूल्य प्रतिब्यारेल ९५ डलरमाथि

2k Shares

काठमाडौँ । पश्चिम एसियामा अमेरिका र इरानबीच सैन्य तनाव चुलिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। अमेरिका र इरानबीच पछिल्लो समय पुनः सैन्य आक्रमण तीव्र भएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुन सक्ने आशंका बढेको हो। यससँगै लगानीकर्ताले सम्भावित आपूर्ति अवरोधको जोखिमलाई मूल्यमा समेट्न थालेका छन्।

बुधबार प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुडको मूल्य करिब ०.९ प्रतिशत बढेर प्रतिब्यारेल ९५.५२ अमेरिकी डलर पुगेको थियो। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) पनि करिब ०.९ प्रतिशत बढेर प्रतिब्यारेल ९१.०२ डलर पुगेको अन्तर्राष्ट्रिय बजार विवरणले देखाएको छ।

यसअघि मंगलबार पनि ब्रेन्ट र डब्लूटीआईको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो। पश्चिम एसियामा जारी तनावका कारण महत्वपूर्ण तेल ढुवानी मार्गमा अवरोध आउन सक्ने चिन्ताले बजारमा दबाब बढाएको हो।

विशेषगरी होर्मुज जलडमरूमध्यबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने भएकाले त्यहाँको सुरक्षा अवस्था बिग्रिए विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा थप असर पर्न सक्ने जोखिम रहेको छ।

तेलको मूल्य बढेसँगै विश्व बजारमा मुद्रास्फीति थप चर्किन सक्ने चिन्ता पनि बढेको छ। ऊर्जा लागत बढ्दा यातायात, उत्पादन तथा अन्य वस्तु तथा सेवाको लागतमा समेत प्रभाव पर्न सक्छ।

पश्चिम एसियाको तनाव कति लामो समयसम्म जारी रहन्छ र तेल ढुवानीमा वास्तविक अवरोध कति हुन्छ भन्ने आधारमा आगामी दिनमा कच्चा तेलको मूल्य थप उतारचढाव हुन सक्ने बजार विश्लेषकहरूको आकलन छ।

oil-price_wyvQoAzCVw.webp

सम्बन्धित समाचार