बाढीपीडितको राहतका लागि एमएडब्लू ग्रुपले दियो १ करोड ११ लाख

841 Shares

काठमाडौँ । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा ग्रुपले राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको हो।

एमएडब्लू ग्रुपले १ करोड ११ लाख रुपैयाँ अर्थात् १,११,००,००० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ। यस सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने ग्रुपको विश्वास छ।

सहयोगबारे एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनीले राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको बताउनुभयो।

उहाँले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै पुनःस्थापना र पुनर्निर्माणको अभियानमा समेत सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि पछिल्लो समय निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, राजनीतिक दल र विभिन्न संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने क्रम बढेको छ।

सम्बन्धित समाचार