काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बुधबार बिहान ५ बजेसम्म १ हजार १२७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३४८ वटा छन्। यस्तै नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, नुवाकोटमा १५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४५ र तनहुँमा ३८ वटा शव फेला परेका छन्। भारतमा समेत नौ वटा शव भेटिएका छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ वटा शव आफन्तलाई बुझाइएको छ।
पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। शव पहिचानका लागि आवश्यक विवरण तथा नमुना सङ्कलनको कामसमेत भइरहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र अन्य आवश्यक कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५४१ जनाको उद्धार गरिएको छ। बाढीमा परी बेपत्ता भएका ४ हजार ८५८ जनाको खोजी कार्य जारी रहेको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।
यसैगरी बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने काम पनि विभिन्न स्थानमा जारी रहेको प्रहरीले जनाएको छ।
भोटेकोसी बाढीपछि त्रिशूली हुँदै चितवन, नवलपरासीलगायतका जिल्लामा ठूलो सङ्ख्यामा शव भेटिएका छन्। केही शव नदीको बहावसँगै भारतसम्म पुगेका छन्।