भोटेकोसी बाढीका शव भारतसम्म पुगे, सीमावर्ती क्षेत्रमा खोजी तीव्र

2.2k Shares

पश्चिम नवलपरासी । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएकामध्ये केहीको शव नारायणी नदी हुँदै भारतसम्म पुगेको पाइएको छ। भारतका विभिन्न स्थानमा शव भेटिएपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तथा निगरानी तीव्र पारेका छन्।

भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रमसमेत सुरु भएको छ। पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका नौ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५ गते एक र १६ गते चार गरी नौ वटा शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको हो। भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय महेशपुरमार्फत नेपाल ल्याएर पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार भारतको महाराजगन्ज र पश्चिम चम्पारण जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी भारतीय भूभागमा खोजी तथा निगरानी बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमावर्ती भारतीय जिल्लाका जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। उहाँका अनुसार भारतमा फेला परेका शवलाई सीमासम्म ल्याउने र नेपालले बुझेर आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने गरिएको छ।

“सुस्ताक्षेत्रमा धेरै शव भेटिन थालेपछि भारततर्फ पनि खोजीका लागि समन्वय गरेका छौँ,” उहाँले भन्नुभयो, “भारतीय सुरक्षा निकायले उतै खोजी गरी सीमासम्म ल्याउने र हामीले बुझेर शव व्यवस्थापन गरिरहेका छौँ।”

कुशीनगरसम्म पुगे शव

नारायणी नदीको बहावसँगै बाढीमा बगेका शव गण्डक बाँध क्षेत्रबाट करिब एक सय किलोमिटर टाढासम्म पुगेका छन्।

मङ्गलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका चार शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए। यसअघि फेला परेका अन्य शव भने महाराजगन्ज जिल्लाका नदी किनारमा भेटिएका थिए।

पश्चिम नवलपरासीमा मात्रै मङ्गलबारसम्म १८० वटा शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तीमध्ये ९८ शवबाट डिएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको छ। पहिचानका लागि बाँकी शवबाट समेत नमुना सङ्कलन गर्ने काम भइरहेको छ।

फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि सुनवल र बर्दघाट क्षेत्रका सामुदायिक वनमा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। तर ठूलो सङ्ख्यामा शव फेला परेपछि व्यवस्थापनमा चुनौती थपिएको प्रशासनले जनाएको छ।

अस्पतालमा दुर्गन्धको समस्या

शव व्यवस्थापनमा ढिलाइ हुँदा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा दुर्गन्ध फैलिएको छ। अस्पताल परिसर हुँदै आसपासका बजार क्षेत्रमा समेत दुर्गन्ध फैलिन थालेपछि शवबाट नमुना सङ्कलन तथा व्यवस्थापनको काम तीव्र पारिएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वृजकुमार यादवका अनुसार अस्पतालमा राखिएका शवको अवस्था र फैलिएको दुर्गन्धका कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने जोखिम देखिएको छ। नमुना सङ्कलन र शव व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गरिएको छ।

रसुवालगायत उत्तरी क्षेत्रमा आएको भीषण बाढीमा परी ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएपछि त्रिशूली हुँदै नारायणी नदीसम्म शव बगेर आएका हुन्। नेपालमा फेला नपरेका शव नदीको बहावसँगै भारतसम्म पुगेको हुनसक्ने भएकाले सीमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षा निकायले समन्वय गरी खोजी गरिरहेका छन्।

सम्बन्धित समाचार