काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको हो।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–काठमाडौँतर्फ चल्ने सबै प्रकारका सवारीसाधनलाई रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक रहनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिनेछ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्म बन्द रहने प्रहरीले जनाएको छ।
नुवाकोटमा पनि बाढी तथा पहिरोका कारण टोखा–छहरे, पासाङल्हामु तथा विदुर–लच्याङ सडकखण्ड प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङको पृथ्वी लोकमार्गअन्तर्गत बेनीघाट–रोराङ गाउँपालिका तथा गजुरी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। पछिल्लो विवरणअनुसार बेनीघाट–रोराङ क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
यस्तै, गण्डकी प्रदेशको लमजुङ, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको बैतडीमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक अवरुद्ध छ। बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रमा गोठालापानी–झुलाघाट सडकखण्डमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ।
प्रहरीले बाढी, पहिरो र मौसमका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने जनाएको छ। यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र आवागमन गर्न प्रहरीले आग्रह गरेको छ।